२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नेपालगञ्जको उद्घोष : प्रदेश राजधानी नपाए कर्णाली प्रदेशमा

नेपालगञ्ज उपमहागरपालिकाको सातौं नगरसभा ।

बाँके, 
११ असार । बाँकेको नेपालगञ्ज उपमहागरपालिकाले प्रदेश ५ को राजधानी बाँकेमा ल्याउन पहल गर्ने अन्यथा कर्णाली प्रदेशसमा समाहित हुने बताएको छ ।

बुधबार सार्वजनिक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको संस्कृति, तथा पर्यटनसम्बन्धी नीतिको एक बुँदामा भनिएको छ ‘नेपालगञ्जलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन प्रयास गरिने छ अन्यथा कर्णाली प्रदेशमा समाहित हुन आवश्यक पहल गरिनेछ ।’

मेयर धवलशम्शेर राणाले बाँके र बर्दियालाई कर्णाली नै पायक पर्ने बताए । ‘‘बाँके र बर्दियालाई ५ नम्बर प्रदेशमा अपायक परेको छ, तैपनि अहिलेको राजनीतिक बाँडफाँटमा हामी ५ नम्बरमा पर्‍यौं’ उनले भने ‘नेपालगञ्ज ऐतिहासिक शहर हो, कि त हामीलाई राजधानी बनाइदिनुपर्‍यो नभए कर्णालीतिर पठाइदिनुपर्‍यो ।’

मेयर राणाले कर्णाली प्रदेशमा समाहित हुँदा भने नेपालगञ्जलाई राजधानी नचाहिने बताए । ‘कर्णालीले पनि स्वीकार गरिसकेको छ, हामी पनि सुर्खेतलाई राजधानी स्वीकार गर्न सक्छौं’ उनले भने ।

नेपालगञ्ज धेरै पहिलेदेखि कर्णालीसँग जोडिएको भन्दै राणाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा रहँदा सहज हुने बताए ।

प्रदेशको स्थायी राजधानीको निर्णय प्रदेश सभाको दुई तिहाई वहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभा गठन भएको साढे दुई वर्ष पूरा भइसक्दा पनि प्रदेश ५ को स्थायी राजधानी नतोकिएको खबर अनलाइन खबरमा प्रकाशित छ ।