जिल्ला वन कार्यालय । दाङ
दाङ,
११ असार । सरकारी कार्यालयमा अत्यावश्यक बाहेक अन्य काम बन्द गर्ने गरी जारी गरिएको लकडाउनको समयमा दाङमा काठ तस्करी तथा वन्यजन्तु सिकारका १६ वटा घटना भएका छन् ।
ती घटनामा २८ जना कारबाहीमा परेका छन् भने पाँच वटा गाडी नियन्त्रणमा लिइएको छ । कोरोना सङ्क्रमण जोखिमको कारण गरिएको लकडाउनको झण्डै तीन महिनाको अवधिमा जिल्ला वन कार्यालयले अवैध रुपमा काटेका झण्डै आठ सय क्यु फिट काठ बरामद गरेको छ । चिरान गरिएका काठसँगै ती काठ ढुवानी गर्न प्रयोग गरिएका गाडी पनि गस्ती टोलीले नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय दाङले जनाएको छ ।
लकडाउनको समयमा काठ चोरी, तस्करीका घटना धेरै भएको वन कार्यालयको तथ्याङ्कले देखाएको छ । यो अवधिमा भएका काठ तथा वन्यजन्तु चोरी निकासीका १६ वटा घटनामा २८ जनालाई कारबाही गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
उनीहरुको साथबाट काठ ओसारपसार गरिरहेको एउटा बस, चार वटा मोटरसाइकल र तीन सय थान गोलीसहित दुई थान भरुवा बन्दुक र चार वटा ट्र्याक्टर र एउटा डोजर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताउनुभयो । नियन्त्रणमा लिइएको तीन सय सय ५० क्यु फिट सालको काठ र चार सय ५० क्यु फिट सिसौका काठको मूल्य २० लाख रुपैयाँ बराबरको भएको डिभिजन वन कार्यालयको भनाइ छ ।
लकडाउनको समयमा हुन सक्ने चोरी, निकासी रोक्न गस्ती बढाइएकोले अवैध गतिविधि गर्नेहरु पक्राउ परेको ज्ञवालीले बताउनुभयो ।