२०७८ मङ्सिर ६ गते सोमवार
२०७८ मङ्सिर ६ गते सोमवार

अबको तीन दिन देशभर मनसुन सक्रिय हुने

केही ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने

फाइल तस्बिर ।

काठमाण्डौं,
१२ असार । अबको तीन दिन देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति प्रदेश १, प्रदेश २, प्रदेश ५ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

ठूलो पानी पर्ने ठाउँका नदी र खोलामा बाढी आउने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । नियमितजसो वर्षा भएकाले देशका खोला, नाला, नदीहरूमा बाढी आउन थालिसकेको छ । मौसमविद्का अनुसार जमिन गलिसकेको हुँदा थोरै पानीले पनि धेरै असर गर्नसक्छ । यसले बाढी, पहिरो, डुबान र कटानको सम्भावना अधिक हुन्छ । तराई र चुरिया क्षेत्रमा चट्याङ्को पनि उत्तिकै सम्भावना छ ।

यो बेलामा ढलको निकास राम्रो नभएको ठाउँमा डुबान हुन सक्ने र खहरे खोलाबाट एक्कासी बाढी तथा भिरपाखा र पखेरामा पहिरो आउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ । यसपाली प्रिमनसुन सक्रिय भएकाले पहिले नै देशभर भारी वर्षा भयो । जमिन गलिसकेको हुँदा प्रारम्भिक समयमै मनसुनजन्य विपद्को ठूलो जोखिम हुनसक्ने मौसमविद्को अनुमान छ ।