रुकुम,
१२ असार । कारागार कार्यालय रुकुम पश्चिममा क्षमताभन्दा धेरै कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भएपछि केही कैदीलाई बाहिरी जिल्लाका कारागारहरूमा स्थान्तरण गरिएको छ।
२० पुरुष र ५ महिला गरी जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा मंगलबारसम्म १ सय बढी कैदीबन्दीहरू थिए। क्षमताभन्दा बढी कैदीबन्दीहरू भएर जसोतसो व्यवस्थापन भइरहेको भए पनि एकैपटक बुधबार कारागारमा २४ जना थपिएपछि त्यहाँ रहेका २५ जनालाई दाङ तुल्सीपुर कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
एकैदिन थपिएका २४ जना रुकुम चौरजहारी घटनाका प्रतिबादीहरु मुद्धा पुर्पक्षका लागि कारागार चलान भएकाहरू हुन्। जिल्ला कारागारमा कैदीबन्दीहरुको संख्या बढेर व्यवस्थापनमा समस्या भएपछि बेलाबेला स्थान्तरण पनि हुँदै आएको छ। तर अधिकांश कैदीबन्दीहरु स्थानीय भएका कारण परिवारजनहरूसँग भेटघाटको लागि जिल्ला कारागारमा नै बस्न रुचाउने गरेका छन्। कैदीबन्दी धेरै हुँदा एउटै बेडमा धेरै जना कैदीबन्दीहरु कोचिएर सुत्नुपर्ने सम्मको समस्या पनि छ।
रुकुम पूर्व नयाँ जिल्ला बनेपछि झनै कैदीबन्दी थपिएका छन्। जिल्ला प्रहरी कार्यालय स्थापना भएपछि प्रहरी सक्रियतासँगै रुकुम पूर्वबाट पनि ठूलो मात्रामा कैदीबन्दीहरु रुकुम पश्चिम कारागारमा आउने गरेका छन्। रुकुम पूर्बमा जिल्ला कारागार नभएका कारण अदालतबाट कैद फैसला तथा पुर्पक्ष भएका कैदीबन्दीहरु रुकुम पश्चिम कारागारमा नै पठाइने गरिएको छ।
जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुमा लागु औषध उत्पादन, प्रयोग र बिक्री वितरण मुद्दाका धेरै भएको खबर थाहाखबरमा प्रकाशित छ ।