२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

क्वारेन्टाइनमा रहेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु

सांकेतिक तस्वीर ।

परासी, 
१४ असार । पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टाइनमा रहेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ का ४५ वर्षीय पुरुषको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शनिबार बेलुका स्वास्थ्यमा समस्या आएर अस्पतालमा भर्ना भएको र उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

दिव्यज्योति क्याम्पस चिसापानीमा रहेको क्वारेन्टाइनमा रहेका ती व्यक्ति दुई दिन अगाडि मात्रै भारतको मुम्बईबाट आएका थिए । शनिबार राति स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि बुटवल लगिएको बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले बताए ।

मृतक पुरुषलाई ब्लड प्रेसरको समस्या रहेको बताइएको छ । मृतकको स्वाब संकलन गरेर कोरोना भाइरस संक्रमण भएको हो होइन परीक्षण गरिँदै छ ।