२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

सलह : प्रदेश ५ मा प्रतिकिलो २० रुपैयाँ, सुदुरपश्चिममा २५

फाइल तस्वीर ।

बुटवल, 
१४ असार । सलह किरा नेपालमा प्रवेश गरेपछि नियन्त्रण गर्न प्रदेश सरकारले नयाँ अभ्यास थालेको छ । प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ ।

शनिबार प्रदेश ५ मा सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याएबापत २० रुपैयाँ दिने निर्णय गरेको हो ।

अब प्रदेश सरकारले सलह किरा लिएर आउनेलाई तत्काल नगद दिने छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीका अनुसार सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको हो ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह ल्याए २५ रूपैयाँ नगद दिने निर्णय गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको हो ।

शनिबार मात्र सलह नेपालमा भित्रिएको थियो ।