अछाम,
१४ असार । अछाममा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ। रामारोशन गाउँपालिका ५ को कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए । असार ९ गते उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगेको थियो। आकस्मिक कक्षमा उपचारका क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका डाक्टर विकास गौचनले बताए ।
उनका अनुसार मृतक पुरुष सुगरका बिरामी थिए । सुगर एक्कासी बढेपछि स्वास्थ्यमा समस्या आएको डाक्टर गौचनले बताए । मृत्युपछि उनीसँगै परिवारका अन्य २ जना कुरुवाको समेत स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको गौचनले जानकारी दिए ।