२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

दाङमा ४० प्रतिशत धान रोपाइँ सकियो

दाङ,
१५ असार । दाङमा अहिलेसम्म करिब ४० प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले ४० प्रतिशत रोपाइँ सकिएको र अबको केही दिनमा नै शतप्रतिशत रोपाइँ हुनेछ ।

गत वर्षमा यो समयमा १५ देखि २० प्रतिशत मात्र धान रोपाइँ भएपनि यस वर्ष गत वर्षको तुलनामा दोब्बर बढी धान रोपिएको हो । ‘जिल्लामा अहिले करिब ४० प्रतिशत धान रोपाइँ भइसकेको छ, कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले भने, ‘देउखुरी भ्यालीमा बढी रोपाइँ भएको छ, भने दाङ भ्यालीका केही कम छ ।’

राप्ती गाउँपालिकामा धान रोपाइँ सकिएको छ। घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर, गढवा दंगीशरण बबई र शान्तिनगर गाउँपालिकालगायतका धान रोप्ने काम तीव्र रहेको छ ।

जिल्लामा विगतका वर्षमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । यसवर्ष बढेर ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । जिल्लामा भारत लगायत तेस्रो देशबाट करिब ७ हजार नागरिक घर फर्केको र उनी अधिकांश खेतीपातीमा जोडिने अनुमान गरिएको छ ।