आक्रमण पछि घाइते वडाध्यक्ष डाँगी ।
शान्तिनगर,
१६ असार । शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार भएको छ।
मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा चोट लागेको छ।
चार-पाँच जनाको समूहले कार्यालयमा प्रवेश गरी आक्रमण गरेको उनले बताए।
उनलाई अहिले तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए। ‘विप्लव समूहले नै आक्रमण गरेको हुनुपर्छ। कार्यालयमा पर्चा भेटिएको छ,’उनले भने।
आक्रमण भएको ठाउँमा विपलव समूहको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ ।