२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

शान्तिनगरका वडा अध्यक्ष आक्रमणको जिम्मा विप्लवले लियो

शान्तिनगर,
१६ असार । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै मंगलबार भएको आक्रमणको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

नेकपाका शान्तिनगर गाउँपालिका सेक्रेटरी कमल सिंहले आक्रमणको जिम्मा लिएका हुन्। वडा अध्यक्ष डाँगीलाई विभिन्न सातवटा आरोप लगाउँदै जनताको मागअनुसार पहिलो चरणको सामाजिक कारवाही गरिएको सिंहले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

विभिन्न व्यक्तिलाई कुटपीट गरेको, गुण्डागर्दी गरेर समाजमा सामाजिक विकृति फैलाएको, जुवातास खेल्ने खेलाउने गरेको, आस्थाका आधारमा जनतालाई सेवा दिएको, भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

वडाध्यक्ष फर्साराम डाँगीसँग विगत केही दिनयता विप्लवका कार्यकर्ताले फोनमार्फत् चन्दा माग्दै आएका थिए। उनले यो कुरा गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीलाई भनेका थिए।

‘चन्दा नदिएपछि वडाध्यक्षमाथि यसरी आक्रमण भएको देखिन्छ,’ गाउँपालिका अध्यक्ष डाँगीले भने। मागेको चन्दा नदिएकै कारण वडाध्यक्षमाथि आक्रमण भएको पारिवारिक स्रोतले पनि दाबी गर्‍यो।