२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

तुलसीपुर उवासंघद्वारा बजार खोल्ने समय बढाउन माग

तुलसीपुर,  
१७ असार । घोराही क्षेत्रका बजार बेलुका ५ बजेसम्म खुल्ने गरेका छन् । जिल्लाका अन्य क्षेत्रका बजार पनि खुल्ने समय त्यस्तै छ । तर तुलसीपुर क्षेत्रका बजार भने दिनको १२ बजेसम्म खुल्ने गरेको छ । बजार खोल्ने समय बढाउन तुलसीपुर क्षेत्रका व्यवसायीले पटक–पटक स्थानीय सरकारसँग माग गर्दै आएका छन् । तर बजार खुल्ने समय बढ्न सकेको छैन । मंगलवार पनि उद्योग वाणिज्य संघको टोलीले उपमहानगरका प्रमुख घनश्याम पाण्डेलाई भेटेर समय बढाउन माग गरेका छन् ।

व्यसायीको मागप्रति आफू सकारात्मक भएको भन्दै उपमहानगरपालिकाका प्रमुख पाण्डेले क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुमा हुनसक्ने संक्रमण र उनीहरुको अवस्था हेरेर केही दिनमा निर्णय लिने बताए ।

‘अहिले अपरान्ह १२ बजेसम्म बजार खुल्दै आएको छ । सहज परिस्थिति सिर्जना भएपछि मात्रै पूर्णरुपमा बजार खोल्ने निर्णय गरिनेछ’, उनले भने । पूरै बजार खोल्दा बाहिरी जिल्लाबाट आउने ब्यक्तिहरुको पहिचान गर्नसमेत प्राविधिकरुपमा समस्या हुने भन्दै प्रमुख पाण्डेले जनताको स्वास्थ्यमा पर्न सक्ने सम्भावित खतराप्रति सबै जिम्मेवार हुनुपर्ने बताए ।

ब्यबसायीहरुलाई परेको समस्याबाट आफू टाढा नभएको भन्दै जतिसक्यो छिटो स्थानीय सरकारले बैज्ञानिक निर्णय गरेर ब्यबसायीहरुलाई सहजता प्रदान गर्ने बताए ।

सबैसँगको सहकार्य र समन्वयमा बजार खोल्ने समय केही हेरफेर गर्न पहल थालेको वाणिज्य सघंका अध्यक्ष बीरबहादुर रावतले बताए । ‘हामी ब्यबसायीको मर्म र चाहनाअनुसार उच्च सतर्कताका साथ बजार व्यवस्थापन गरेर साँझसम्म खोल्ने पक्षमा बारम्बार समन्वय गरिरहेका छौं’, अध्यक्ष रावतले भने ।

अध्यक्ष रावतका अनुसार केही दिनमा निश्चित मापदण्ड अनुसार सामाजिक दूरी कायम गर्दै बजारहरु खोल्ने निर्णय हुनसक्ने बताए । मंगलबारसम्म तुलसीपुर उपमहानगरपालिकाभित्र ४३ जनामा कोरोना पुष्टि भएको छ भने १० जना निको भएर घर फर्किसकेका छन् ।

मंगलबारसम्म तुलसीपुर क्षेत्रका विभिन्न क्वारेन्टाइनहरुमा रहेका १ सय ७८ जना ब्यक्तिहरुको कोरोना परीक्षण हुन बाँकी छ ।