२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

नेपालमा करिब १ करोड सलह किरा भित्रिए

फाइल तस्वीर ।

काठमाडौं, 
१७ असार । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ।

झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ। हावाको गतिमा आएको परिवर्तनले गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो। सलह बुधबारसम्म ५२ जिल्लामा पुगेको बताइएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताए।

उनले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरु आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्नसक्ने सम्भावना कायमै रहेकोसमेत बताए। सलहलाई फुल पार्नका लागि मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने कुरा सत्य नभएको उनको भनाइ छ। ‘कि त जहाँबाट आएको छ, त्यहीँ फर्कनुपर्छ, होइन भने मरेर जान्छ, नेपालमा यसले फुल पार्ने सम्भावना न्यून छु, जोशीले भनेको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ।