२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

म्यान्मारको एक खानीमा पहिरो जाँदा १ सय ६० जनाको मृत्यु

म्यान्मार, 
१९ असार । म्यान्मारको उत्तरी क्षेत्रमा रहेको एक खानीमा बिहीबार पहिरो जाँदा कम्तीमा १ सय ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझै बढी हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरू पहिरोले पुरिएका हुन् । खानीबाट फालिएको माटो र ढुंगामा हुने जेडका स–साना टुक्रा खोज्न सयौं मानिसहरू उक्त क्षेत्रमा भेला हुने गरेका छन् ।

म्यान्मारको आपत्कालीन उद्धार निकायले लगातारको वर्षापछि ठूलो क्षेत्रको माटो बगेपछि ‘जेड’ खोज्न गएका मानिसहरू पुरिएका जनाएको छ । उद्धार कार्य जारी रहेको जनाउँदै निकायले मृतकहरूको संख्या बढ्न सक्ने उल्लेख गरेको छ ।

म्यान्मारको आगलागी नियन्त्रण विभागले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘भारी वर्षापछि आएको हिलोको ठूलो छालले जेड खोज्न गएका मानिसहरू पुरिएका हुन् ।’

सूचना मन्त्रालयका एक अधिकारीले हिलोले पुरिएका १ सय ६० शव निकालिएको जनाएका छन् । मृतकको संख्या २ सयभन्दा बढी रहेको अनुमान गरिएको उनको भनाइ छ ।