२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

गुल्मीमा पहिरोमा परी १८ महिने बालकको मृत्यु, २ जना बेपत्ता

फाइल तस्वीर ।

बुटवल, 
१९ असार । गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परेर १८ महिने बालकको मृत्यु भएको छ । एक जना पुरिएका छन् ।

इश्मा गाउँपालिका–१ हस्तिचौरको सारु गाउँमा गएको पहिरोमा परेर बसन्त सारुका छोरा १८ महिने बालक सिजन सारुको मृत्यु भएको छ । त्यस्तै रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षा खत्री बेपत्ता छन् ।

स्थानीय इश्वरा खत्रीसहित ४ जना गम्भीर घाइते रहेको वडा सदस्य जंगबहादुर कुँवरले बताए । इश्मा गाउँपालिका वडा नं. १ का स्वास्थ्य इन्चार्ज सम्शुल हक मियाले सारुगाउँमा गएको पहिरोमा दुई घर पुरिएको र दुई जना बेपत्ता भएको जानकारी दिए ।

त्यस्तै मुसिकोट नगरपालिकामा पनि एक जना बेपत्ता भएका छन् । बिहीबार रातिदेखि परेको वर्षाले मुसिकोट नगरपालिका–२ मा आठ गोठ र २ घर बगाएको छ ।

घटनास्थलमा मुसिकोट प्रहरी चौकीबाट प्रहरी पुग्न थालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए । पहिरोले इश्मामा २ घर बगाएको र मुसिकोटमा कम्तिमा ५ घर बगाएको जानकारी आएको उनले बताए ।