२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोनालाई हल्का रुपमा लिएका ब्राजिलका राष्ट्रपतिमा कोरोना संक्रमण

काठमाडौं, 
२४ असार । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरसबाट संक्रमित भएका छन् । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए । कोरोनालाई ‘सामान्य फ्लु’ भन्दै उनले संक्रमण फैलिन नदिन गरिने लकडाउनको पनि विरोध गर्दै आएका छन् । उनले सार्वजनिक स्थानमा जाँदा मास्क पनि लगाउँदैनथे । धेरै स्थानमा उनी विना सामाजिक दुरी र विना मास्कमा देखिएका छन् ।

गत आइतबार विदेशमन्त्री अर्नेस्टो अराउजोले सामाजिक सन्जालमा राखेको एक तस्वीरमा बोलसोनारो अन्य नेताहरुसँगै मास्क नलगाइ बसेको देखिएको छ । ब्रिसिलियास्थित अमेरिकी दूतावासमा लिइएको सो तस्वीरमा सामाजिक दुरी पनि पालना गरेको देखिँदैन ।

कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा १६ लाख ६८ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाटै ब्राजिलमा ६६ हजार ७ सय ४१ जनाको मृत्यु भइसकेको छ ।