२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

केएमसी अस्पतालमा ५४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

सांकेतिक तस्बिर ।

काठमाडौं, 
२७ असार । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा। मुकुन्द राज जोशीले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

ती पुरुष मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।

कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ ।

नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापन गरेको छ ।