२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

जाजरकोट पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो

तस्वीर : सुरेन्द्र सुमन । जाजरकोट ।

जाजरकोट,
२७ असार । जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा गएको पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ। योसमेत मृतकको संख्या नौ पुगेको छ। पहिरोले दुई घर बगाउँदा पाहुन आएका २ जनासहित १२ जना बेपत्ता भएका थिए।

पहिरोमा परी बेपत्ता ३८ वर्षीय कलु सार्की र उनका ६ वर्षीय छोरा सभास सार्कीको शव फेला परेको हो। यसअघि शव फेला परेर पनि पहिचान हुन नसकेका कुशे ९ चौराटाका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्कीको पहिचान भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए। उनीहरु दिदीको घरमा पाहुन आएका थिए।

पहिरोमा बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षका छोरा अर्जुन सार्की र त्यस्तै कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १८ वर्षका विरेन्द्र सार्की र कलु सार्कीकी १४ वर्षीया छोरी तिर्सा सार्कीको पनि शव पहिचान भइसकेको थियो। उक्त पहिरोमा पुरिएर अझै तीन जना हराइरहेका छन्।

पहिरोले गाँउ नै बगाउन थालेपछि बारेकोटका विभिन्न गाँउका दुई सय बढी परिवार विस्थापित भएका छन्। घाइते दुई जनालाई शनिबार हेलिकोप्टरले उद्दार गरेर उपचारका लागि सुर्खेत लगिएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।