२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तनहुँ पहिरो : ६ जनाको मृत्यु, ५ जना बेपत्ता

तनहुँको दमौलीस्थित बुल्दीखोलामा आएको बाढीले डुबानमा परेका घरहरु । तस्वीर : कान्तिपुर ।

तनहुँ,
२९ असार । आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० अरुण पौडेलले बताए ।

एसपी पौडेलका अनुसार माँझफाँटका एकै घरपरिवारका ३ जनाको मृत्यु भएको र एक जना बेपत्ता छन् । यस्तै, म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको पनि मृत्यु भएको छ ।

त्यस्तै, व्यास–९ माझफाँटकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण जिल्लामा ५ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको एसपी पौडेलले बताए ।

पहिरोमा बेपत्ता भएकाको खोजीकार्य, घाइतेको उद्धार तथा अन्य क्षति विवरण संकलनमा सरोकारवाला निकाय तथा स्थानीयसँग समन्वय गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण ठाउँठाउँमा बत्तीका पोलहरु लड्दा बिहानदेखि विद्युत अवरुद्ध भएको छ ।

पहिरोका कारण अवरुद्ध भएको राजमार्ग अहिले खुलाइएको छ । भित्री सडक भने अझै अवरुद्ध छन् ।