प्युठान नगरपालिका क्षेत्रमा मकै बालीमा पसेको सलह धपाउँदै स्थानीय । तस्बिर : कान्तिपुर
प्युठान,
२९ असार । आइतबार दाङ हुँदै प्युठान पसेको सलह किराले किसानको बालीनाली नोक्सान गर्न थालेको छ । सरुमारानी गाउँपालिका हुँदै माण्डवी गाउँपालिकाको रम्दी, चेरनेटा आसपास वास बसेको सलह सोमबार बिहानैबाट प्युठान नगरपालिकाका किसानको खेतबारीमा प्रवेश गरेको हो ।
किसानहरूले धुवाँ लगाउने, थाल–टिन ठटाउने गरे पनि सलह भागेका छैनन् । लाखौंको संख्यामा रहेकाले भगाउन नसकिएको प्युठान नगरपालिका–२ गिरबहादुर धामीले बताए । उनका अनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पुर्याइरहेको छ । ‘खेतबारी नै ढाक्ने गरी बसेका छन्,’ उनले भने, ‘हाम्रो केही उपाय लागेन ।’
नगरपालिकाका १० वटै वडामा सोमबार बिहानैदेखि सलहले नोक्सान गर्न थालेकाले किसान चिन्तित भएको मेयर अर्जुनकुमार कक्षपतिको भनाइ छ ।
प्युठानमा ८ १० लाखको संख्यामा सलह आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्युठानका निमित्त प्रमुख सुमन खनालले बताए । ‘सलहले धेरै नोक्सानी गर्ने आकलन गरेर स्थानीय तहका कृषि शाखाहरूमा सतर्क हुन आग्रह गरिएको छ,’ उनले भने । साताअघि पनि सलहको झुन्डले सरुमारानी, गौमुखी नौबहिनी, मल्लरानी गाउँपालिका क्षेत्रका मकै बालीमा क्षति पुर्याएको खबर कान्तिपुरमा प्रकशित छ ।