२०७७ असोज १४ गते बुधवार
२०७७ असोज १४ गते बुधवार

दाङमा सिकलसेल बिरामीको संख्या ३३९ पुग्यो

यो रोग नेपालमा विशेष गरेर थारु समुदायमा देखा परेको छ

दाङ, 
३० असार । जिल्लामा सिकलसेल एनिमियाका बिरामीको संख्या ३३९ पुगेको छ । नियमित औषधि सेवन गरिरहेका १६९ जना घोराही उपमहानगरपालिकामा गत वर्ष गरिएको परीक्षणमा ५२ जना र दङ्गीशरण गाउँपालिकामा गरिएको परीक्षणमा ११८ जनामा पोजेटिभ देखीएपछि सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या बढेको हो ।

दङ्गीशरण गाउँपालिकामा शनिबार र आइतबार गरी ७१५ थारु समुदायका नागरिकले स्वास्थ्य परीक्षण गरेका थिए । शनिबार गरिएको परीक्षणमा ७८ जनामा सिकलसेल देखा परेको थियो भने आइतबार गरिएको परीक्षणमा ४० जनामा देखिएको हो ।

सोमबार दङ्गीशरणको १ र २ नम्बर वडामा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सिकलसेल एनिमिया स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

दाङमा सिकलसेल एनिमियाका बिरामी बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मानव रगतमा पाइने रातो रक्तकणिकाको स्वरूप विकृत भएपछि सिकलसेल एनिमिया रोग लाग्ने गर्दछ ।

नेपालमा विशेष गरेर थारु समुदायमा देखापरेको यो रोग दाङमा भने एकजना गैह्रथारु समुदायका मानिसमा समेत देखापरेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।

नेपाल सरकारले सिकलसेल रोगको उपचारका लागि एक लाखसम्मको रकम सुविधा उपलब्ध गराउँदै आएको छ । जसका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट दाङ जिल्लाको हकमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा लिन सकिने व्यवस्था गरेको छ ।

दाङमा यसका कुनै रोगीको मृत्यु भएको तथ्याङ्क भने जिल्ला स्वास्थ्य कार्यालयसँग नभएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले दिए ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको आँकलन अनुसार विश्वभरिमा करिब पाँच प्रतिशत व्यक्तिले सिकलसेल रोगको जीवाणु बोकेका छन् । वर्षेनी जन्मिएका तीन लाख बालबालिकामा हेमोग्लोबिनको मात्रा कम हुने गर्दछ । सिकलसेल एनिमिया रोग भएका बुबाआमाबाट जन्मिएका २५ प्रतिशत सन्तानमा यो रोग लाग्ने सम्भावना हुने गर्दछ ।

सिकलसेल एनिमिया विशेष गरी वंशाणुगतरुपमा मात्र देखापर्ने रोग हो तर अहिले अन्य समुदायमा पनि यो रोग देखापर्न थालेको राप्ति अञ्चल अस्पताल तुलसीपुरका कन्सल्टेन्ट फिजिसियन डाक्टर मीनचन्द्र अधिकारी बताउँछन् ।

सिकलसेल एनिमियाको रोकथाम मात्र गर्न सकिने डा. अधिकारीले बताए । यो समस्याले ग्रस्त मानिसमा रगतको कमी हुने हुँदा उनीहरू कमजोर भएर बारम्बार विभिन्न रोगको सङ्क्रमणमा पर्ने गर्दछन् । सिकलसेल रोगलाई छिट्टै उपचार गर्न ग्रामीण महिला उत्थान केन्द्रले सचेतनाका काम गरिरहेको संस्थाका अध्यक्ष आशमानी चौधरीले जानकारी दिएको खबर रातोपाटीमा प्रकाशित छ ।