२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

‘क्यासलेस’ तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर,
१ साउन । तुलसीपुर उपमहानगरपालिकालाई नगदविहिन अर्थात क्यासलेस बनाईएको छ । उपमहानगरपालिकामा तिर्नुपर्ने भुक्तानी सेवाग्राहीहरुले अनिवार्य रुपमा बैंकमा जम्मा गर्नुपर्नेछ । आर्थिक सुशासनका साथै वैंकिङ्ग प्रणालीप्रति अभ्यस्त बनाउनका लागि उपमहानगरपालिकामा बैंकको काउन्टर स्थापित गरिएको जनाइएको छ ।

काउन्टर राख्न इच्छुक बैंकबाट आवेदन लिएर मेगा बैंकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तिय अधिकृत ललितवहादुर घर्तीले जानकारी दिए ।

गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र वैकसँगको प्रक्रियामा भएको ढिलाईका कारण यो वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको मेगा वैकका म्यानेजर राजन भण्डारीले जानकारी दिए ।

यसैविच उपमहानगरपालिकामा काउन्टरको उद्घाटन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले क्यासलेस वनाउने लक्ष्य पुरा भएकोमा खुसी व्यक्त गरे । उनले अनौपचारिक कारोबारलाई रोक्नका लागि वैंकिङ्ग प्रणालीको ठूलो महत्व हुने कुरामा समेत जोड दिएका थिए । हरेक नागरिकलाई बैकिङ्ग प्रणालीसँग जोड्न सकिए मात्रै औपचारिक कारोबार वृद्धि हुने उनको भनाई थियो ।

“वित्तिय साक्षरता अहिलेको आवश्यकता भएकाले पनि हामीले बैकिङ्ग प्रणालीमा जोड दिएका हौँ” पाण्डेले भने । आगामी वर्षबाट उपमहानगरपालिकाको हरेक पेमेन्ट अनलाइनबाट गर्ने गरी काम अगाडि वढाएको पनि उनको भनाई छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष विमल रिजालले वैकिङ्ग प्रणालीले आर्थिक पारदर्शिता ल्याउने वताए । उनले उपमहानगरपालिकाले क्रमवद्ध ढंगले घोषणाहरु पुरा गर्दै गएकोमा खुसी समेत व्यक्त गरे । धेरै मानिस बैकको पहुँचबाट टाढा रहेको उल्लेख गर्दै तुलसीपुर वैकर्सका अध्यक्ष सरोज लामिछानेले यसले उनीहरुलाई बैकिङ्ग प्रणालीसँग जोडेर लैजाने बताए ।

बैकको म्यानेजर राजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।