२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

टिप्पर बन्द गर्ने व्यवसायीको चेतावनी

फाइल तस्वीर ।

दाङ,
३ साउन । घोराही सिमेन्ट उद्योगले टिप्पर व्यवसायीसँग गरेको सम्झौताअनुसार ढुवानीभाडा भुक्तानी गरेको छैन । सम्झौताअनुसार भाडा नपाएपछि सम्पूर्ण टिप्पर व्यवसायीहरुले टिप्पर बन्द गरी आन्दोलनको चेतावनी दिएका छन् ।

शुक्रवार टिप्पर व्यवसायीहरुले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी पूर्व सहमतिअनुसार सिमेन्ट उद्योगले प्रतिटन ५ सय २५ दिनुपर्ने भए पनि अहिले उद्योगले जानकारी नै नगराएर मूल्य घटाएपछि व्यवसायीहरुले टिप्पर बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य भएको जानकारी दिए ।

सिमेन्ट उद्योगले जानकारी नै नदिएर असार १ गतेदेखि लागू हुनेगरी प्रतिटनमा सय रुपैयाँ घटाएर ४ सय २५ रुपैयाँ दिन खोजेको स्वर्गद्वारी टिप्पर यातायात प्रालिका अध्यक्ष भरतनाथ योगीले जानकारी दिएका छन् । ‘सिमेन्ट उद्योगले एकलौटी रुपमा मूल्य घटाएर प्रतिटन ४ सय २५ रुपैयाँ दिन खोजेको छ, त्यो हामीलाई मान्य हुँदैन’–अध्यक्ष योगीले भने–‘४ सय २५ ले हाम्रो पर्ता नै आउँदैन ।’

पूर्वसहमति अनुसार भाडा भुक्तानी नदिए टिप्पर चलाउन नसकिने पनि पत्रकार सम्मेलनमा बताइएको थियो । उनले उद्योगलाई रेट समायोजन र काम गरेको पैसा दिन समेत माग गरेका छन् । उनीहरुले घोराही सिमेन्ट उद्योगको खानी क्षेत्र बंगलाचुली गाउँपालिका ३ र ४ स्थित तापा खानी र सम्राट सिमेन्टको खानी क्षेत्र बंगलाचुली ३ को थारा चुनढुङ्गा खानी क्षेत्रमा ढुवानी नगर्ने चेतावनी दिएका छन् ।

व्यवसायीले सम्राट सिमेन्ट उद्योगबाट पाइरहेको ढुवानी शुल्क बृद्धि गर्न समेत माग गरेका छन् । घोराही समेन्ट उद्योगबाट चुनढुङ्गा ल्याउनका लागि २ सय ६० टिप्परहरु चल्दै आएका छन् ।