२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

रोल्पामा समुदायमा कोरोना फैलिएको आशंका

रोल्पा, 
४ साउन । एक जना व्यक्तिको लापरबाहीले रोल्पाको गुरुङगाउँसहित केहि गाउँ सिल गरिएको छ।

साउदीबाट दुई हप्ताअघि गाउँ आएका रोल्पा नगरपालिका–४ गुरुङगाउँका २५ वर्षीय एक पुरुषको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट निस्केर गुरुङगाउँ र लिबाङ बजारमा खुलमखुल्ला हिडेपछि समुदायमा कोरोना फैलिएको आशंकामा रोल्पा नपा–४ गुरुङगाउँसहित १० नम्बर वडाको ३ गाउँलाई आइतबार दिउँसो १२ बजेदेखि सिल गरिएको हो।

ति व्यक्ति गुरुङगाउँस्थित सामुदायिक भवनमा रहेको क्वारेन्टाइनमा बसेका थिए। उनीसँगै वडा नम्बर १० का १२ जनामा शनिवार कोरोना पुष्टी भएपछि आइतवार जिल्ला कोरोना संकट व्यवस्थापन समितिले ति गाउँ सिल गरेको हो।

विदेशबाट आउदा उता गरिएको पिसीआर रिपोर्ट देखाएर गाउँभरी डुलेका ति पुरुषमा कोरोना पुष्टी भएपछि उनको कन्ट्रयाक ट्रेसिङका लागि गाउँ नै सिल गर्नु परेको हो। यस्तै सोमबार बेलुका ६ बजेदेखि सदरमुकाम लिबाङ बजारलाई पनि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

स्थानीय सरकार र प्रशासनको लापरबाहीले यो अबस्था आएको सरोकारवलाहरुको भनाई छ। ‘क्वारेन्टाइनमा राखिएको व्यक्ति रिपोर्ट नआउदै निस्कन दिनु हुदैनथ्यो,’ स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले भने, ‘यसअघि पनि बाँकेको नरैनापुर लगायतका विभिन्न जिल्लामा आएको परिस्थितिलाई हेरेर सचेतता अपनाउनुपर्ने हो, यसमा स्थानीय सरकारको लापरबाही देखियो।’

‘स्थानीय सरकारले क्वारेन्टाइनमा बस्दा खर्च धेरै आउछ भन्ने थियो भने स्वास्थ्य कर्मी र प्रहरीको निगरानीमा सर्त सहित होम क्वारेन्टाइनमा राख्न पनि सकिन्थ्यो,’ केसीले भने।

अब सिल गरेर मात्र हुदैन उक्त व्यक्तिको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी तत्काल पीसीआर गर्नुपर्ने पनि स्वास्थ्य प्रमुख केसीको भनाई छ।

यस्तै शनिबार नै १२ जनामा कोरोना देखिएको रोल्पा(१० धबाङमा भने त्यति धेरै समस्या नदेखिएको भएता पनि थप सतर्कताका लागि गाउँ सिल गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिएको खबर आयोमेलमा प्रकाशित छ ।