२०७७ असोज १४ गते बुधवार
२०७७ असोज १४ गते बुधवार

यस्तो बन्यो पश्चिम दाङकै ठुलो ज्यामिरे सिंचाई चेक ड्याम (फोटो र भिडीयो सहित)

शान्तिनगर, 
४ साउन । बर्षाको पानी सञ्चय गरी हिउँदेबालीमा सिंचाई  गर्नका लागि पश्चिमदाङमा सबैभन्दा ठुलो चेक ड्याम निर्माण गरिएको छ ।

शान्तिनगर १ मा ज्यामिरे चेक ड्याम निर्माण गरिएको हो । सिंचाईको अभावमा हिउँदेबाली सोचे अनुरुप फलाउन नसकेका कृषकले अब भने सोचे जस्तो अन्नबाली फलाउने भएका छन् ।

शान्तिनगर गाउँपालिकाको २५ लाख र प्रदेश नं ५ को २५ लाख गरी ५० लाख लगानीमा सिंचाई चेक ड्याम निर्माण गरिएको शान्तिनगर १ का वडा अध्यक्ष जंग बहादुर पुन बताउनुभयो । शान्तिनगर १ साविक बाघमारे १ का ५ वटा टोल पातीघार, ठुलो गुण्डले, सानो गुण्डले, रपट र ज्यामीरे गाउँका कृषक यस सिँचाई आयोजनाबाट प्रत्यक्ष लाभान्ति हुने अध्यक्ष पुनले बताउनु भयो ।

सिंचाईको कुनै सुबिधा नहुँदा कृषि पेशा फस्टाउन नसकेकाले कृषकहरुको समस्या समाधान गर्न सिंचाई चेक ड्यामको निर्माण गर्न पहल गरेको अध्यक्ष पुनको भनाई छ । अव हिउँदेबाली तथा बेमौषमी व्यवसायीक तरकारी खेती गर्न सकिने र यसका लागि कृषक आकर्षित विभिन्न कार्यक्रम वडाले सञ्चालन गर्ने वडाको योजना रहेकोे वडा अध्यक्ष पुनले जानकारी दिनुभयो ।

सिंचाई चेक ड्याम निर्माण गरेर मात्र नपुग्ने भएकाले नहर निर्माणका लागि बजेट छुट्याइएको पनि जानकारी दिनुभयो ।

बर्षामौषममा बर्षेनी खेर जाने पानीलाई सिचाई चेक ड्याम निर्माण गरेर हिउँदेबालीका लागि कृषकलाई फाइदा पुग्ने देखिएको छ । ज्यामिरे सिंचाई चेक ड्यामको निर्माण कार्य करिब ९० प्रतिशत पुरा भएको ज्यामिरे सिचाई चेक ड्याम निर्माण समितिका अध्यक्ष गणेश वलीले बताउनुभयो । अव १० प्रतिशतका केही काम मात्र बाँकी रहेको वलीको भनाई छ ।

भविष्यमा हुने जोखिम र जैविक विविधतालाई ख्याल गरेर सिंचाई चेक ड्याम निर्माण गरीएको समेत उहाँले दावी गर्नुभयो । हिउँदमा गरिने कृषि पेशा फस्टाउने आशा स्थानिय कृषकहरुले लिएका छन् ।

सिंचाईको कुनै स्रोत नभएकाले कृषिबाली सोचे अनुरुप उब्जाउन नसकेको अवस्थामा यस ज्यामिरे सिचाई चेक ड्यामले आफू लगायत सम्पूर्ण कृषकहरु खुसी भएको स्थानिय गोपिलाल वली बताउनु भयो । अव हिउँदमा उत्पादन हुने गहु, दलन, तथा बेमौषमी तरकारी खेती सोचे भन्दा राम्रो गर्न सकिने वलीको विश्वास छ । घरमा खानलाई मात्र नभएर व्यवसायीरुपमा खेती गर्न सकिने भएका पछि आफू खुसी रहेको वलीको भनाई छ ।

ज्यामिरे सिंचाई चेक ड्यामबाट लाभान्वित हुने ५ गाउँका कृषकहरु सो ड्यामको प्रतिक्षामा बसेका छन् ।