२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पहिरोले घर पुरिंदा हजुरआमा र नातिनीको मृत्यु

फाइल तस्वीर ।

दमौली,
५ साउन । घरमाथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका हजुरआमा र नातिनी दुवैको ज्यान गएको छ।

भानु ९ सिमलगैह्रेमा सोमबार दिउँसो करिब दुई बजेतिर गएको पहिरोका कारण स्थानीय मनोज धौलारीको घर पुरिंदा छोरी १७ वर्षीया शिताष्मा र आमा ८० वर्षीया तिलमायाको ज्यान गएको हो।

पुरिएको अवस्थामा शिताष्माको जीवितै उद्धार गरिए पनि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। हजुरआमा तिलमायाको भने प्रहरी र स्थानीयले शव झिकेका थिए। ‘नातिनीलाई जीवितै उद्धार गरिएको थियो,’वडाध्यक्ष निलम संजिवा श्रेष्ठले भने,‘हजुरआमाको भने पुरिएकै अवस्थामा शव झिकिएको थियो।’

प्रहरीका अनुसार एक्कासी पहिरो आएकाले मनोजकी पत्नी र अर्की छोरी भाग्न सके पनि दुई भने पुरिएका थिए। पहिरो खस्ने क्रम चलिरहेको र बाटो पनि बिग्रिएकाले चिन्ताजनक अवस्थाकी शिताष्मालाई उपचारका लागि पठाउन सास्ती भएको थियो।

प्रहरीले घाइतेको उद्धार गरे पनि ठाउँ ठाउँमा बाटो बिग्रिएका कारण एम्बुलेन्स आउन नसकेपछि एक्साभेटरमा राखेर उपचारका लागि पठाइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

‘बाटो भत्किएकाले एम्बुलेन्स नै आउन सकेन,’ उनले भने,‘तैपनि बचाउन सकिन्छ कि भनेर राजमार्गसम्म जेसीबीमा राखेर पठाएका थियौं।’ तर यसरी पठाइए पनि तुरतुरेको कालिका पोलिक्लिनीकमा पुग्नुअघि नै उनको ज्यान गएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ।