२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालन

पाल्पा,
६ साउन । सोमबार केहीबेर खुलेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड मंगलबार अपराहृनबाट एकतर्फी खुलेको छ । मंगलबार बिहानदेखि दिनभरको प्रयासमा ठूला ढुंगा फुटाउने र लेदो माटोसहित खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी सुरु भएको प्रहरीले जनाएको छ ।

दुई तर्फी सञ्चालनका लागि पहिरो पन्छाउने काम भने बाँकी नै रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । राजमार्गका विभिन्न स्थानमा खसेका पहिरोमा एकतर्फी मात्र सुचारु गरिएको र दोहोरो सवारी साधन चल्ने बनाउन पहिरो सफा गर्ने काम बाँकी रहेको उनले बताए ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, गिटीखानी, चर्चरे, कालीमाटी, गौडेपुललगायत दर्जन बढी स्थानमा पहिरो खसेर मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको थियो ।

केही दिनदेखिको वर्षाका कारण राजमार्गको पाल्पा डुम्रे गौडेपुलदेखि तल्लो सिद्धबाबासम्म दर्जन बढी स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने र खुल्ने गरेको सडक डिभिजनले जनाएको छ ।

शुक्रबारदेखि अवरुद्ध सडक सोमबार केहिबेर सञ्चालन भएपनि पुनः अवरुद्ध भएको थियो । सडक डिभिजनले समयमा लोडर, स्काभेटर व्यवस्थापन नगर्दा यात्रु र चालकले सास्ती खेप्नु परेको छ ।