२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

स्यार्पूतालमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

फाइल तस्वीर ।

रुकुम पश्‍चिम,
७ साउन । रुकुम पश्‍चिमको बाँफिकोट गाउँपालिकाको स्यार्पूतालमा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

बुधबार दिउँसो तालमा डुबेर सोही गाउँपालिका–५ वडगाउँका २३ वर्षीय लोकबहादुर घर्तीको मृत्यु भएको छ भने २० वर्षीय अनिल घर्ती बेपत्ता छन् ।

२० वर्षीय शशी पुन आफै बाहिर निस्कन सफल भएका छन्, भने १५ वर्षीय कमल विकलाई स्थानीय जेनिश पुरीले उद्धार गरेका थिए ।

उनीहरु ४ जना बिहान घरबाट बल्छी हान्न भन्दै ५ नम्बर वडातर्फको तालको सिरानमा पुगेका थिए । बल्छी खेल्न गएका उनीहरु पौडी खेल्न थालेका थिए ।

पौडी खेल्ने क्रममा अनिल घर्तीले बचाउ बचाउ भनेपछि लोकबहादुर घर्ती बचाउनका लागि तालमा पौडिएको घटनास्थलमै रहेका वडा नम्बर ३ का अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए ।

बेपत्ता भएको केही समयमै लोकबहादुरको शव तालमै भेटिएको थियो भने डुङ्गामार्फत अनिलको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिएको खबर कान्तिपुरमा प्रकाशित छ ।