शान्तिनगर,
८ साउन । शान्तिगर गाउँपालिकामा गएको आर्थिक बर्ष २०७६/७७ मा ३ सय २३ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएका छन् ।
नेपाल सरकारले वेरोजगार नागरिकहरुलाई देशमै रोजगार सृजना गर्ने उद्देश्यले गत साल देखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको हो । गत आर्थिक बर्ष २०७६/७७ मा ३ सय २३ जनालाई आफ्नै गाउँ–ठाउँमा रोजगार सिर्जना गरेको शान्तिगर गाउँपालिकाले जनाएको छ ।
शान्तिनगर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३६ लाख ८६ लाख हजार ९ सय ७४ रुपैयाँ खर्च भएको छ, भने गाउँपालिकाको ७ वटै वडाका बेरोजगार नागरीकहरुलाई रोजगार सिर्जना गरिएको थियो ।
वडा नं. १ मा २७ जना, वडा नं. २ मा २५ जना, वडा नं. ३ मा ३१ जना, वडा नं. ४ मा ६३ जना, वडा नं. ५ मा ४४ जना, वडा नं. ६ मा ४५ जना र वडा नं. ७ मा ८३ जना गरी ३ सय २३ जना बेरोजगार नागरीकले रोजगारी पाएको प्रधानमन्त्री रोजगार कार्यक्रम शान्तिनगरका रोजगार संयोजक निमराज सापकोटाले जानकारी दिनुभयो ।
शान्तिनगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शान्तिनगर गाउँपालिकादेखि चिराघाट जोड्ने सडक, घारी ज्यामिरे पोखरीदेखि दक्षिण नहर कुलो निर्माण, मागगनारी सडक पक्कीनाला निर्माण, जुम्लेकुला विद्यालयदेखि खेलमैदानसम्म पक्कीनाला, काँसिपुरमा सिँचाईका लागि पोखरी जलासय निर्माण, धुलौरीदेखि पहाडिपुर जाने बाटो पक्की नाला, कुमलगढीमा सिचाईका लागि पोखरी जलासय निर्माण, चापीकोट जानेबाटो मन्दिर नजिक चिरामा तारजालि निर्माण लगायतका विकास काममा रोजगार सिर्जना भएको संयोजक सापकोटाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा औषतमा २० दिन काम भएको थियो, भने सरकारी ज्याला अनुसार कामको ज्याला दिइएको थियो ।
यहिँ साउन ८ गते देखि भाद्र ७ सम्म आर्थिक बर्ष २०७७/७८ का लागि प्रत्येक वडामा बेरोजगार व्यक्ति सुचिरकण गरिने रोजगार संयोजक सापकोटाले जानकारी दिनुभयो ।
गत आर्थिक बर्ष झै यस आर्थिक बर्ष पनि वेरोजगार नागरीकहरुले रोजगारी पाउने भएका छन् । गाउँमै रोजगार सिर्जना हुने भएकाले गाउँपालिकाले ताकेको मितिमा निवेदन पेश गर्न वडा नं. १ का वडा अध्यक्ष जंग वहादुर पुनले वडाबासीहरुलाई आग्रह गर्नुभएको छ । गाउँकै विकास निकासमा काम गरिने भएकाले रोजगारीका लागि वडा कार्यालय आई निवेदन पेश गर्न वडा अध्यक्ष पुनको आग्रह छ ।
यता शान्तिगर ५ का वडा अध्यक्ष गिरीराज बस्नेतले पनि सम्पूर्ण वेरोजगार वडाबासीहरुलाई रोजगारका लागि वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गर्नुभयो । आफ्नो गाउँ ठाउँको विकास लागि आफै सरिक हुने यो एउटा अवसर पनि भएको अध्यक्ष बस्नेतले बताउनु भयो ।