दाङ,
१० साउन । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको एकान्त टोल विकास संस्थाको आठौं बार्षिक साधारणसभा एंव चौथो अधिवेसन आज शनिवार सम्पन्न भएको छ ।
एकान्त टोल बिकास संस्थाका अध्यक्ष शंकर गौतमको सभापतित्व एंव नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ट उपाध्याक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
वार्षिक साधारणसभा तथा चौथो अधिवेशनलाई उदघाटन गर्दै उपाध्याक्ष पोख्रेलले टोल विकास स्थानीय विकासको प्रमुख आधार भएकोमा जोड दिनुभयो । स्थानीय सरकारले गर्ने र गरेका कामको बारेमा जवाफ माग गर्ने र सुझाव दिने अधिकार टोल विकास संस्थालाई भएकाले संस्थाको तर्फबाट पहल थाल्न अनुरोध गर्नुभयो ।
यस्तै, कार्यक्रमका विशिष्ट अतिथि, विकासविद तथा रोटरी क्लव दाङका पूर्व अध्यक्ष तीर्थ पौडेलले विकासको अवधारण सडक कालो पत्रे भएर मात्रे नहुनेमा जोड दिनुभयो । उहाले सडक कालो पत्र बन्दा आफु खुशी हुने भन्दा पनि अरु खुशी भएमात्रै राम्रो ठानिने बताउनुभयो ।
कार्यक्रममा गणेश समाज सुधार समिति भरतपुरका सचिव निर्मल गौतम, एकान्त टोल बिकास संस्थाका पूर्व अध्यक्षद्धय शुशील आचार्य र लोकराज आचार्य, टोल बिकास संस्थाका सल्लाहकार शिशिर अधिकारी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव हेमराज शर्माले गरेका थिए ।
साधारणसभाले एकान्त टोल बिकास संस्थाले गरेका गतिबिधिलाई समेटेर सचिव हेमराज शर्माले प्रस्तुत गर्नु भएको बार्षिक प्रतिवेदन र संस्थाका कोषाध्यक्ष शरदकुमार आचार्यले प्रस्तुत गर्नु आर्थिक प्रतिवेदनलाई सर्वसहमतिले पारित गरेको छ ।
साधारणसभाले टोलका सडक बत्तीलाई नियमित रुपमा बालेर उज्यालो बनाउनका लागि थप पहल गर्ने र सो को थप उचित ब्यवस्थापन गर्नका लागि कार्य समितिलाई जिम्मा दिने लगायतका निर्णय गरेको छ ।
एकान्त टोलमा रहेको गणेश समाज सुधार समितिको ब्यवस्थापनमा सञ्चालित गणेश मन्दिरलाई टोलको एक साझा सम्पत्तीका रुपमा बिकास गर्नुपर्ने निष्कर्ष सहित मन्दिरको पहिलो तला निर्माणका लागि ५१ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको छ । साधारणसभाले हरिकृर्तन भवनको पहिलो तला निर्माणका लागि टोल बिकास संस्थाबाट ५१ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको हो ।
यसैगरी टोलको बिकास निर्माण लगायतका काममा महत्वपूर्ण योगदान गरेको भन्दै साधारणसभा चार जनालाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपाने, वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, एकान्त टोलका बासुदेव खनाल र बिश्वम शाही हुनुहुन्छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ट उपाध्याक्ष बिपुल पोख्रेलले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
अध्यक्षमा पुनः गौतम
अधिवेसनले एकान्त टोल बिकास समितिको आगामी तीन बर्षे कार्यकालका लागि पुनः शंकर गौतमको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिले चयन गरेको छ ।
आज भएको संस्थाको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सर्वसम्मतिमा सो समिति चयन गरेको हो । जसको उपाध्यक्षमा शिवा शर्मा, सचिवमा हेमराज शर्मा, सहसचिवमा हेमराज अधिकारी र कोषाध्यक्षमा शरदकुमार आचार्य हुनुभएको छ ।
यसैगरी संस्थाको कार्यसमिति सदस्यहरुमा मिनराज खनाल, देवीसरा केसी, जानका घर्ती, विन्दु थापा, इन्द्रमणि अधिकारी र कुमारबसन्त आचार्य रहनु भएको छ ।
कुल १ सय २१ सदस्य धरधुरी रहेको सो टोल विकास संस्थाको नयाँ नेतृत्वको कार्यकाल आगामी ३ वर्षको रहेको छ ।