२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

शोक, रोग र भोकमा कांग्रेस : केन्द्रीय सदस्य गिरी

सौडियार,  
१२ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले शोक, रोक र भोकमा नेपाली कांग्रेस सधैँ तत्पर रहेको बताएका छन् ।

घोराही उपमहानगरपालिका सौडियारका स्वर्गीय यमबहादुर चौधरीको घरमा आयोजित शोकसभामा कांग्रेस केन्द्रीय सदस्य गिरीले यस्तो बताएका हुन् ।

क्यान्सर रोगबाट पीडित चौधरीको अल्पायुमै निधन भएकोमा शोक व्यक्त गर्दै केन्द्रीय सदस्य गिरीले मृतकका परिवारलाई रोजगारीको समेत नेपाली कांग्रेसले जिम्मा लिने अभिव्यक्ति दिए ।

मृतक चौधरीका एक मात्र छोरा एसइई पास गरेर पनि थप अध्ययनको बाटो नपाएको अवस्थामा अब नेपाली कांग्रेसले उनको पढाईको जिम्मा लिने पनि बताएका छन् । उनलाई चाहना र क्षमता अनुसारको सीप सिकाउने तथा उच्च शिक्षाको अध्ययनको व्यवस्था नेपाली कांग्रेसले मिलाउने पनि केन्द्रीय सदस्य गिरीको भनाई थियो ।

शोकसभामा बोल्दै नेता गिरीले सो बस्तीमा रहेको नदी कटानको समस्यामा पनि आफूले सम्बन्धित मन्त्रालयमा गम्भीरतापूर्वक पहल गर्ने बताए । मृतकका परिवारलाई हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्दै नेता गिरीले ठूलो परिवारमा रहेको चौधरी परिवारको बस्ती सुरक्षित गर्न तथा यो समुदायमा रहेको बेरोजगारीको समस्या समाधानका लागि दीर्घकालीन योजना ल्याउने पनि उद्घोष गरे ।

‘युवाहरु मात्र होइन, महिला दिदीबहिनीहरुलाई पनि सीप सिकाई स्वरोजगार बन्न र राजनीतिक नेतृत्वमा आउन आग्रह गर्दछु’—नेता गिरीले भने । साथै उनले आफूलाई विकासप्रेमी नेताका रुपमा प्रस्तुत गर्दै विकास निर्माणमा आफूले यो पार्टी र ऊ पार्टी नभन्ने पनि स्पष्ट पारे । ‘हामी विकास निर्माणको समानुपातिक वितरण होस् भन्नेमा छौँ, त्यसमा पनि पिछडावर्गको उत्थानमा हाम्रो पहिलो प्राथमिकता हुने छ’—नेता गिरीले भने ।

शोकसभामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति भूपबहादुर डाँगी, प्रदेश क्षेत्रीय सभापति गिरिराज सुवेदी, क्षेत्रीय सचिव बद्री खड्कालगायत दर्जनौँ नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सर्रा चोकमा जम्मा भएका सयभन्दा बढी नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले झण्डासहित नेता गिरीलाई स्वागत गर्दै सौंडियारसम्म लगेका थिए ।

सोही कार्यक्रममा नेता गिरीले कोभिड—१९ को संक्रमण नियन्त्रण र स्वास्थ्योपचारमा समेत सरकार कत्ति पनि गम्भीर नभएको स्पष्ट पारेका थिए ।

यसैगरी सरकारले कोभिडका कारण जारी लकडाउनको वहानामा किसानलाई आवश्यकता अनुसारको रासायनिक मल समेत उपलब्ध गराउन नसकेको भन्दै यो विषयमा सम्बन्धित मन्त्रालयमा गम्भीर ध्यानाकर्षण गराइसकेको पनि बताए ।

केन्द्रीय सदस्य गिरीले पार्टीको आसन्न अधिवेशनलाई मध्यनजर गर्दै क्रियाशिल सदस्यता वितरण पार्टीमा लगानी भएका कार्यकर्ताहरुलाई दिन पनि आह्वान गरेका छन् । त्यसका लागि क्षेत्रीय सभापतिहरुलाई आग्रह समेत गरिसकेको उनले बताएका छन् । केन्द्रीय नेता गिरी कम्तिमा एक महिना दाङमा रहने बताउँदै क्रमशः सबै क्षेत्रमा आफूले सम्बन्धित तहका नेताकार्यकर्ताहरुलाई भेटघाट गर्ने समेत बताएका छन् ।

गिरी जिल्ला आएसँगै नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु समेत सक्रिय भएर गाउँगाउँमा पुग्नथालेका छन् । आसन्न महाधिवेशन तथा कोभिड संक्रमणको न्यूनीकरणका लागि नेपाली कांग्रेसले गाउँगाउँसम्म कार्यकर्तालाई जागरुक बनाउनका लागि आफू गृहजिल्ला आएको पनि गिरीले बताएका छन् ।