२०८१ बैशाख १३ गते बिहिवार
२०८१ बैशाख १३ गते बिहिवार

नेकपा स्थायी कमिटी बैठक अनिश्‍चितकालसम्म स्थगित

काठमाडौं,
१३ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक केहीबेरअघि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए ।

“बैठक स्थगित भएको सूचना आएको छ । अर्को बैठक कहिले बस्छ, टुंगो छैन,” उनले भने ।

असार १० गतेबाट सुरु भएको बैठक साउन ६ गते आठौंपटक स्थगित गर्दै १३ साउनसम्म धकेलिएको थियो । योबीचमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति खोज्ने भनिए पनि प्रयास सफल हुन सकेको थिएन ।

शुक्रबार दुई अध्यक्षबीच संवाद भए पनि सहमति जुट्न सकेको थिएन । ओली सहमतिमा नआएको भन्दै प्रचण्ड र माधवकुमार नेपाल समूहले बहुमतबाट भए पनि निर्णय गरेर जानुपर्ने बताएपछि मतभेद चुलिएको थियो ।

अहिले स्थायी कमिटी बैठक रोकेर सहमति खोज्ने प्रयासस्वरूप केही दिनका लागि धकेलिएको नेताहरूले जानकारी दिएका छन् ।