२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

रुकुम पश्‍चिममा पहिरोले एक घर बगाउँदा २ युवाको मृत्यु

फाइल फोटो ।

रुकुम पश्‍चिम,
१३ साउन । बाँफिकोट गाउँपालिका–९, स्यालामा पहिरोले एक घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।

रातभर परेको अविरल वर्षापछि आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाएको हो। पहिरोले घर बगाउँदा जसबीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकी हस्तबहादुर सुनारका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फोटो कान्तिपुर ।

जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले नवीन र बलबहादुरको शव भेटिएको र अरु ४ जनाको उद्धार गरिएको जानकारी दिए । जसवीरकी श्रीमती ६० वर्षीया झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी ५ वर्षीया कोपिला र ३ वर्षीया रितु कामीको उद्धार गरिएको हो । झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

मंगलबार बिहान ४ बजेतिर घरदेखि १० मिटरमाथिबाट आएको पहिराले उक्त घर झण्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पुर्‍याएको छ ।

घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयले जीवितै उद्धार गरेका थिए भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए । पहिरो हटाएर उनीहरुको शव निकालेको घटनास्थलमा रहेका प्रहरी चौकी मग्मा इन्चार्ज प्रहरी सहायक निरीक्षक हरि देवकोटाले जानकारी दिएको खबर कान्तिपुरमा प्रकाशित छ ।