२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

राज्यलाई उत्तरदायी बनाउन सूचनाको हक

दाङ,
१७ साउन । दाङ महिला जेसीजले सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम विहीवार सम्पन्न गरेको छ । कार्यक्रम जेसीजकी अध्यक्ष जिबा भुसालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले जति धेरै सूचना पाइन्छ त्यति धेरै बलियो हुने बताएका थिए । कुनै पनि योजना बनाउनको लागि सूचना आवश्यक पर्ने भन्दै उनले सूचनाले व्यक्तिलाई योजना बनाउन सहयोग पुग्ने बताएका थिए ।

त्यसका लागि हरेक व्यक्तिले भरपुर सूचनाको हक प्रयोग गर्नुपर्ने बताएका थिए । केन्द्रीय उपाध्यक्ष पोख्रेलले सूचनाको हकले राज्यलाई जनताप्रति जवाफदेही बनाउने समेत बताएका थिए ।

उनले २०६४ सालमा सूचनाको हकसम्बन्धी ऐन बनेको जानकारी गराउँदै त्यसलाई उपयोग गर्नसके राज्यलाई पारदर्शी बनाउन सकिने बताएका थिए । त्यसका लागि हरेक नागरिकले राज्यका हरेक निकायले के काम गरेर र कति पैसा खर्च गरे भन्ने सूचना हरेक नागरिकले पाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष सुदीप गौतमले सूचनाको युग भएकाले सूचना कसरी लिने भन्ने विषयमा हरेक नागरिक चनाखो हुनुपर्ने बताए । नागरिक जति धेरै सूचना लियो उति नै खबरदारी गर्न सकिने उनले बताए ।

सूचनाको बारेमा जानकारी भएन भने सबै कुराबाट पछाडि पर्ने बताए । संविधानले नै सूचनाको हक मौलिक हकमा राखेकाले यसलाई प्रयोग गर्नुपर्ने बताए । सार्वजनिकदेखि सरकारी संस्थाहरुमा सूचनाको हक प्रयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, पूर्व अध्यक्षहरु सुशीला पौडेल, निरजा पोख्रेल, कार्यक्रममा सहभागीको तर्फबाट मिना रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक सिन्दु रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन् । कार्यक्रममा सहभागीहरुलाई नारायणी भण्डारीले धन्यवाद दिएकी थिइन् ।