२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

मेलम्चीको पहिरोमा परी ६ जनाको मृत्यु, २ बेपत्ता

 

फाइल तस्वीर ।

सिन्धुपाल्चोक,
१९ साउन । मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ। शव भेटिएपनि उनीहरूलाई चिन्ने मान्छे नहुँदा शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नीरक्षक फलबहादुर तामाङले बताए।

मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए। पहिरोले पुरिएका भारत बेतीया घर भएका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको थियो। शाहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ।

पहिरोले भारत बेतीयाका ४२ राजेन्द्र चौरसीया, वीरगंजका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिंग, २३ वर्षीय मानबहादुर रूम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिबबालक धामी र १७ वर्षीय सोनम लामा सुतेका थिए। सँगै सुतेकामध्ये ६ जनाको शव भेटिए पनि को-को हो भन्ने पहिचान गर्न नसकिएको प्रहरीले जनाएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।