२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

सडक मिचेर बनाइएका घर डोजर लगाएर भत्काइयो

बुटवल, 
२१ साउन । रूपन्देहीको बुटवल उपमहानगरपालिका ९ र ११ मा पर्ने कालिकापथ विस्तारका क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइएको छ ।

सडक ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरिए पनि अटेरी गरेको भन्दै उपमहानगरपालिकाले बुधबार बिहानै डोजर पठाएर घर भत्काएको हो ।

उक्त सडक ८२ फिट फराकिलो बनाइँदै छ । उपमहानगरले सडक मिचेका घर भत्काउन घरधनीहरूलाई साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो । म्यादभित्र कसैले पनि घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

कालिकापथलाई उपमहानगरपालिकाले वैकल्पिक सडकका रूपमा विस्तार गर्ने योजना बनाएको छ ।

बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा यो सडक विस्तारको काम सम्पन्न गर्न ३ वर्ष लाग्ने र झन्डै एक अर्ब खर्च हुने उल्लेख छ ।