दाङ,
२१ साउन । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले वन तथा वातावरण संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको बताउनु भएको छ ।
मानवीय त्रुटीका कारण हुने अधिकांश वन डढेलोको जोखिमका कारण हरेक वर्ष ठूलो मात्रामा पर्यावरण नोक्सान भईरहेकाले यस तर्फ सबै गम्भीर बन्नु पर्ने मन्त्री गिरीले आग्रह गर्नुभयो ।
आज डिभिजन वन कार्यालय दाङले आयोजना गरेको शून्य वन डढेलो महाअभियान २०७६/०७७ सफल घोषणा एवं अग्नि नियन्त्रण सामग्री प्रदर्शनी गृह उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले मन वचन र कर्मले वन जोगाउन सबै लाग्न आग्रह गर्नुभयो।
डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीको अध्यक्षता भएको कार्यक्रममा मन्त्री लिला गिरीले वन संरक्षण, प्रवद्र्धन र यसको दीगो विकासका लागि वन डडेलो नियन्त्रण, वन तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण र बृहतर बृक्षारोपण लगायत कार्यमा पछिल्लो समय वन कार्यालयले उल्लेखनीय कार्य गरेर वन तथा वातावरण संरक्षण योगदान दिएको भन्दै आभार प्रकट गर्नुभयो। उहाँले वन डढेलोका कारण दाङमा वर्षेनी सयौँ हेक्टर वन क्षेत्र खरानी बन्ने गरेकोमा यस पटक शून्य वन डढेला नियन्त्रण महाअभियानले सफलता प्राप्त गरेको भन्दै यसको अनुशरण अरुले गर्नु पर्नेमा जोड दिनुभयो ।
डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले यस पटक कार्यालयले वन डढेलो नियन्त्रण महाअभियान तथा लकडाउन लगायत विषम परिस्थिति र वनका पदाधिकारीको सक्रियताले गर्दा आर्थिक वर्ष २०७६/०७७ मा शून्य वन डढेलो सफल हुन सम्भव भएको बताउनु भयो।
वन कार्यालयले जिल्लाभर १ लाख टिमुर रोपण, १६० हेक्टरमा वृक्षारोपण, १०७ हेक्टरको वन पत्ल्याउने कार्यमा १००५ भन्दा माथि प्रगती गरेको प्रमुख ज्ञवालीको भनाई छ । उहाँले डिभिजन वन कार्यालयले तयार पारेको अग्नि नियन्त्रण सामग्री प्रदर्शनी गृह मुलुकभरमै पहिलो कार्य भएको दावी गर्नुभयो । प्रहरी, नेपाली सेना जस्ता विपदमा समेत काम गर्ने संगठनमा समेत यस प्रकारका सामग्री त्यसरी तयारी अवस्थामा सबैले देख्ने, बुझ्ने गरी नराख्ने गरेको बताउँदै उनले यस कार्यबाट अरुले पनि सहज रुपमा वन डढेलो नियन्त्रण र विपदका बेला कुन कुन सामग्रीको आवश्यकता पर्दो रहेछ भन्ने थाहा पाउन सक्ने बताउनुभयो।
यसैविच डिभिजन वन कार्यालय दाङले यस वर्ष वन तथा वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने १० जना वन संरक्षणकर्मी तथा कर्मचारीलाई सम्मान गरेको छ ।
प्रदेश ५ का वन तथा वातावरण मन्त्री लिला गिरी र डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले वन तथा वातावरण संरक्षणमा उल्लेख्य योगदान पुर्याएका र कार्यालयका काम नागरिकको गुनासोरहित बनाएको भन्दै कर्मचारी र वन संरक्षणकर्मी सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा सर्वोत्कृष्ट पुरस्कारबाट सहायक वन अधिकृत सिद्धान्त वराल र कर्मचारी खिमबहादुर चौधरी, त्यसैगरी उत्कृष्ट पुरस्कारबाट फरेष्टरद्वय विरजङग वली र तिलक चौधरी, सशस्त्र बन सुरक्षा तर्फ टे सुवेदार मोतिराम थारु, कार्यालयकी कम्प्युटर अपरेटर प्रतिभा तिमिल्सेना, वन रक्षकद्वय विनोद अधिकारी र नवराज अधिकारी सम्मानित भएका छन् । यस्तै, सान्त्वना तर्फ अधिकृत लेखातर्फ जागेश्वर उप्रेती र मेकानिकल अपरेटर सहायक तर्फ प्रकाश बहादुर साउद सम्मानित भएका छन् ।