२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

कांग्रेसमा ५ लाख क्रियाशील सदस्य थपिने

फाइल तस्वीर ।

काठमाडौं,
२३ साउन । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ।

बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो।

देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन्।

अहिले कांग्रेसमा करिब पाँच लाख क्रियाशील सदस्य छन्। अब पाँच लाख क्रियाशील सदस्य थपिनेछन्। पदाधिकारी बैठकमा भएको सहमतिलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन्।

पार्टीका पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक बसेको हो। विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने र पार्टी समायोजनका साथै सदस्यता लिन चाहनेको संख्या धेरै भएपछि तल्लो तहबाटै क्रियाशील सदस्यता थप गर्नुपर्ने दबाब आएको हो।

यसअघि पार्टी संस्थापन पक्षले क्रियाशील सदस्यता दोब्बर बनाउनुपर्ने प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति जनाएको थियो ।

कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरूबीच गुटगत राजनीति गहिरिँदै गएका बेला पदाधिकारी बैठक बसेको हो।

महाधिवेशनको मिति तोकिसकेपछि सभापति शेरबहादुर देउवाले विभाग गठनका साथै पूर्णता दिने काम थालेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध गर्दै आएको छ।

असन्तुष्ट समूहले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिनुका साथै सभापति देउवालाई भेटेरै लिखित ध्यानाकर्षण गराएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ।