२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

‘नागरिक र प्रहरीको साझेदारीबाट समाजमा शान्ति सुरक्षा कायम’

तुलसीपुर,  
२४ साउन । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले नागरिक प्रहरी साझेदारीका माध्यमबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउनु भएको छ ।

रोटरी क्लब अफ तुलसीपुर सिटिको आयोजनामा सम्पन्न कार्यक्रममा अतिथी वक्ताको रुपमा उपस्थित हुनुभएका डिएसपी सिंहले नागरिक स्तरबाट प्रहरीलाई तत्काल सुचना प्राप्त भएपछि मात्रै तुरुन्तै घटनाहरु नियन्त्रण गर्न मद्घत पुग्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले समाजलाई सुरक्षित बनाउने अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरुमा टोल सुरक्षा समिति गठन भैसकेको जानकारी दिनुभयो । अबदेखि टोल सुरक्षा समितिले स्थानिय स्तरमा हुने घरेलु हिंसा,चोरी डकैति नियन्त्रण देखि बिभिन्न चेतना मुलक कार्यक्रमहरु समेत प्रहरीसगंको समन्वय र सहकार्यमा गाउँगाउँमा अभियानकै रुपमा संचालन हुने उहाँले बताउनु भयो ।

सिंहले एक अर्को प्रसंगमा विकसित मुलुकहरुको सिको गर्दै देश विकास गर्न युबाहरुलाई उत्पादनमा लगाउने बाताबरणको सिर्जना गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो–ंजब युवाहरुले आफ्नै देशमा परिश्रम गर्छन अनि मात्रै सबैखालका परिबर्तनहरु सम्भब हुन्छन्’ साथै उहाँले रोटरीले समाजमा गरेको योगदानको समेत खुलेर प्रशंसा गर्नुभयो ।

रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा डिएसपी सिंहको जिवनी र उहाँको व्यक्तित्वको बारेमा पूर्वअध्यक्ष तुफानबाबु श्रेष्ठले प्रकाश पार्नुभएको थियो । क्लबका प्रस्तावित अध्यक्ष यज्ञ बहादुर केसीले स्वागत गर्नुभएको कार्यक्रममा पूर्वअध्यक्ष विजय केसीले क्लबले गरेका सामाजिक गतिविधीको बारेमा प्रकाश पार्नु भएको थियो ।

यसैबिच रोटरी फाउण्डेशनमा पाँच सय डलर योगदान गर्नुभएका क्लवका पूर्वअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष देव बहादुर केसी, अध्यक्ष सुरेश हमाल र प्रस्तावित अध्यक्ष यज्ञ बहादुर केसीलाई क्लबका पूर्वअध्यक्ष कुशल तर्ताल, बिमल रिजाल, धर्मेन्द्र वैश्य, ललित बहादुर घर्ती र विर बहादुर रावतले पिएचएफ प्रमाणपत्र र पिन लगाएर सम्मान गर्नु भएको थियो ।

क्लबका पब्लिक ईमेज चेयर राजिव वलीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजिकरण सचिव देवेन्द्र केसीले गर्नु भएको थियो ।