२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

कोहलपुरमा कोरोना संक्रमित आमाबाट जन्मिएको शिशुको मृत्यु

नेपालगञ्ज, 
२७ साउन । कोरोना संक्रमित रुकुमको चौरजहारीकी २८ वर्षीया महिलाबाट जन्मिएका शिशुको मृत्यु भएको छ। कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा जन्मिएको शिशुको मृत्यु भएको हो। संक्रमित आमाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

शिक्षण अस्पतालका चिकित्सकहरु डा विनोद महाशेठ, डा. होमनाथ अधिकारी, शैलेन्द्र शाक्यसहितको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टीमले अपरेसन गरेर संक्रमित महिलाबाट साउन २४ गते राति साढे ९ बजे शिशु (छोरा) जन्मिएको थियो। आमाको पेटमा नै धड्कन कम भएका कारण जटिल अवस्थामा जन्मिएको शिशुको बाल रोग बिशेषज्ञ डा. मुरली मनोहर गुप्तासहित स्वास्थ्यकर्मीहरुको टिमले उपचार गरेका थिए।

३९ साताकी गर्भवतीको पेटमा रहेको शिशुको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो। भेरी अस्पतालको प्रयोगशालामा उनको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो। कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि नेपाल सरकारले शिक्षण अस्पताल कोहलपुरलाई कोरोना संक्रमित बिरामीहरुको शल्यक्रियासहित उपचार हुने सुविधा सम्पन्न अर्थात् लेभल तीन स्तरको अस्पतालको घोषणा गरेको थियो।

शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित भई अस्पतालमा भर्ना भएका गर्भवतीको शल्यक्रिया गरेर प्रसूति गराएको यो दोस्रो केस भएको खबर थाहाखबरमा प्रकाशित छ ।