२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

क्वारेन्टिनमा करेन्ट लागेर २३ वर्षीया महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर ।

कञ्‍चनपुर,  
२८ साउन । कञ्‍चनपुरको कृष्णपुर नगरपालिका ६ मा रहेको एक क्‍वारेन्टिनमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

कृष्णपुर ६ स्थिति महाकाली नमुना माध्यमिक विद्यालय, वसन्तपुरमा रहेको क्‍वारेन्टिनमा करेन्ट लागेर मंगलबार २३ वर्षीया राधा वडको मृत्यु भएको मृतकका जेठाजू लक्ष्मण वडले पुष्टि गरेका छन् ।

उनका अनुसार मृतक राधा, उनका श्रीमान शम्भु वडसहित परिवारका ६ जना सदस्य मंगलबार नै भारतको बैंग्लोरबाट आएका थिए । उनीहरु क्‍वारेन्टिनमा पुगेर सरसफाईका लागि धारामा जाने क्रममा धारमा जोडिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।

उनलाई करेन्ट लागेर छटपटिँदासमेत कोरोना सर्छ, भन्‍ने त्रासले कसैले पनि उद्धार नगरेको पीडित परिवारको गुनासो छ । नगरपालिकालाई खबर गर्दा समेत एम्बुलेन्स नभएको जवाफ फर्काएको र प्रहरीले पनि बेवास्ता गरेको बताइएको छ ।

कसैले सहयोग नगरेपछि उनका जेठाजूले पिठ्यूँमा बोकेर तीन किलोमिटर टाढा पुर्‍याएपछि ‘अटोरिक्सा’ पाइएपछि उक्त रिक्सामा राखेर अत्तरियास्थित पदमा अस्पताल पुर्‍याइएको थियो । पद्‌मा अस्पताले उनलाई सेती प्रादेशिक अस्पताल रिफर गरेको थियो ।

सेती अस्पताल पुर्‍याएको केही समयपछि नै उनको मृत्यु भएको खबर बाह्रखरीमा प्रकाशित छ ।