२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

भारतीय क्रिकेटर धोनी र रैनाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं, 
३२ साउन । भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

भारतीय समाचार संस्था पीटिआईले धोनीले सन्याश लिएको उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा टीट्वेन्टी विश्वकप, एकदिवशीय विश्वकप र च्याम्पियन्स ट्रफिको उपाधि जित्ने उनी एकमात्र कप्तान हुन्। भारतले सन् २००७ मा टीट्वेन्टी विश्वकप र सन् २०११ मा एकदिवशीय विश्वकपको उपाधि जितेको थियो।

३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान धोनीले व्यावशायीक क्रिकेटबारे भने कुनै निर्णय नगरेको जनाइएको छ।

धोनीले सन् २००४ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। धोनीले अन्तिमपटक सन् २०१९ को एकदिवशीय विश्वकप खेलेका थिए जसमा भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदा धोनीले ५० रन बनाएका थिए।

धोनीले तीन सय ५० एकदिवशीय अन्तर्राष्ट्रिय, ९० टेस्ट र ९८ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन्। यसबीचमा १५ हजार बढी अन्तर्राष्ट्रिय रन बनाएका धोनीले विकेटकिपरका रुपमा ८ सय बढीपटक ब्याट्सम्यानलाई आउट गरेका थिए।

त्यसैगरी रैनाले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू पनि धोनीकै बाटो पछ्याउने बताएका छन्।

रैनाले भारतका लागि १८ टेस्ट, २ सय २६ एक दिवसीय र ७८ टी–२० खेलेका छन्। उनले टेस्टमा ७ सय ६८, एक दिवसीयमा ५ हजार ६ सय १५ र टी–२० मा १६ सय ५ रन बनाएका छन्।

एक दिवसीयमा पाँच शतक बनाएका रैनाले टी–२० मा एक शतक बनाएका छन्। उनी पछिल्लो समय भारतीय टोलीमा परेका छैनन्।