२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

पतिको कुटाइबाट गर्भमा रहेको शिशुको मृत्यु

दाङ, 
३२ साउन । रोल्पाको रुन्टिगढी गाउँपालिकामा पतिको कुटाइबाट एक गर्भवती महिला गम्भीर घाइते भएकी छन्।

कुटाइबाट गर्भमा रहेको ८ महिनाको शिशुसमेत खेर गएको छ। रुन्टिगढी गाउँपालिका–३ भोर्नाका २३ वर्षे कुले बिकको कुटाइबाट २० वर्षीया पत्नी कुमारी बिक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताएका छन्।

कुटपिटबाट गम्भीर घाइते महिलाको स्वास्थ्य चौकी मसिनामा उपचारका क्रममा ८ महिनाको मृत शिशु जन्मिएको हो। कुटपिटबाट पीडित महिलाको टाउको र शरीरमा गम्भीर चोट लागेको र उनको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पत्नी कुटपिट गर्ने कुले बिकलाई इलाका प्रहरी कार्यालय होलेरीले पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान गरी गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

उक्त कसुरमा दोषी ठहर भए ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।