नयाँदिल्ली,
१ भदौ । भारतको उत्तर प्रदेश सरकारका सैनिक कल्याण, होमगार्ड तथा नागरिक सुरक्षामन्त्री चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
जुलाई १९ मा कोरोना पुष्टि भएका ७३ वर्षीय चौहानको आइतबार उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको स्वास्थ्य अवस्था जटिल भएपछि करिब ३६ घण्टादेखि भेन्टिलेटरमा राखिएको थियो । सुरुमा लखनउस्थित अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गुरुग्रामस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलामा पनि समस्या देखिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उनी उत्तर प्रदेशको अमरोहा क्षेत्रबाट दुई पटक लोकसभा सदस्यमा समेत निर्वाचित भएका थिए । कोरोना संक्रमणबाट उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको पनि मृत्यु भएको थियो ।