२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

कोरोना महामारीमा देशभर रगत अभाव

फाइल तस्वीर ।

काठमाडौं : बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसकेकाले रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि अनुरोधसमेत गरेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाकाअनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्पहरु निषेधाज्ञाका कारण स्थगित भएका छन् । दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

रगतको माग भइरहेकाले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भए पनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न सके रगत आपूर्ति सहज हुने रेडक्रसले जनाएको छ ।

सुरक्षित तवरले रक्तदान गर्दा वा गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संगठनले यसअघि नै स्पष्ट पारिसकेको छ ।