२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

रुपन्देहीमा ७ दिन र कपिलवस्तुमा ८ दिन निषेधाज्ञा थपियो

बुटवल : कोरोना संक्रमण बढेपछि रुपन्देहीमा एक हप्ताको लागि लकडाउन थपिएको छ ।

जिल्लास्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्रको आइतबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि भदौ १४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

यसअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २ गतेदेखि आइतबार राति १२ बजेसम्म लकडाउन गरेको थियो ।

लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारी साधनलाई प्रतिबन्ध लगाइएको छ । पसल खोल्न तथा हिँडडुल गर्न निषेध गरिएको छ ।

त्यसैगरी कपिलवस्तुमा पनि थप ८ दिन निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार एक विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो ।

पछिल्लो समय थप भएको एक हप्ताको निषेधाज्ञा आज राति १२ बजे सकिन लागेको बेला दिउँसो बजेको बैठकले निषेधाज्ञालाई भदौ १५ गतेसम्म लम्बाएको हो ।

जिल्ला प्रशासनमा आइतबार दिउँसो बजेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ १५ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक सम्पूर्ण गतिविधि ठप्प पार्ने गरी जिल्लामा लकडाउन जारी गरेको हो ।

बैंक तथा बित्तीय संस्था भने स्वास्थ्य मन्त्रालयले जारी गरेको सावधानी अपनाएर बिहान ८ बजेदेखि १० बजेसम्म खुल्न पाउने भएका छन् ।