२०७८ मङ्सिर ६ गते सोमवार
२०७८ मङ्सिर ६ गते सोमवार

धान बाली मासेर गृहमन्त्रीको सभा !

तस्वीर : सामाजिक सञ्जाल ।

काठमाडौँ : धान बालीमा गृहमन्त्रीले सभा गरेको फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ । गत मङ्गलवार अछामको कैलाश खोलामा आएको बाढीले गरेको विनाश अवलोकन गर्न शुक्रवार गृहमन्त्री रामबहादुर थापा बादल दलबलसहित अछाम पुगेका थिए ।

निरीक्षण र राहतका लागि भन्दै अछाम पुगेको उनको हेलिकप्टर खेतमा ल्यान्ड भएको थियो भने त्यही खेतमा टेबल तथा कुर्सी राखेर कार्यक्रमसमेत गरेका थिए ।

२५ कट्टा चामल, १० कट्टा दाल, नुन तेल लगायतका केही लत्ताकपडा बोकेर काठमाडौँबाट अछाम पुगेको टोलीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, नेकपा सांसद भीम रावल, शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत रहेका थिए । सभामा त्यतिकै सङ्ख्या उपस्थित सुरक्षाकर्मी, कर्मचारी र स्थानीयले बचेखुचेको धान पनि कुल्चिदिएपछि जिल्लावासीले निराश छन् ।

मङ्गलवार आएको बाढीले रामा रोशन–५ सैन बजार बगाउँदा ७ जनाको मृत्यु भएको छ, भने ११ जना अझै बेपत्ता छन् । बाढीबाट बचेको धानमाथि हेलिकप्टर उतारेर कार्यक्रम गरेको भन्दै सामाजिक सञ्जालमा गृहमन्त्री थापाको चर्को आलोचना भइरहेको छ ।