२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

४५ लाख बढीको अवैध ओखर र छोहोरासहित २ जना पक्राउ

तस्वीर : अन्नपूर्ण पोष्ट ।

गुलरिया : बर्दिया प्रहरीले ठूलो परिमाणमा ओखर र छोहोरासहित दुईजनालाई पक्राउ गरेको छ ।

राजापुर नगरपालिका ७ स्थित बेलासा गाउँको सडक हुँदै भारत लैजान तयारीमा राखिएको ४४ लाख ६९ हजार ९९० रुपैयाँ मुल्यको ओखर र छोहोरा बरामद गरेको हो ।

नेपालबाट भन्सार छली भारततर्फ निकासी गर्न तयारी अवस्थामा राखिएको अवस्थामा प्रहरीले ३ सय ९६ बोरा ओखर र ५९ बोरा छोहोरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए ।

प्रहरीले चोरी पैठारीको आरोपमा राजापुर नगरपालिका ४ बस्ने ३२ वर्षीय जाबेद मनिहार र जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका ४ घर भएका तर हाल राजापुर बजारमा व्यापार गर्दै आएका ३० वर्षीय रमेश ढुँगानालाई पक्राउ गरेको छ ।

बरामद गरेका सामग्रीसहित दुवैजनालाई भन्सार कार्यालय गुलरिया, बर्दियामा बुझाइएको प्रनाउ खड्काले जानकारी दिए । उनीहरुमाथि छानविन भइरहेको प्रहरीले जनाएको छ । बरामद सामग्रीहरु भन्सार छली भारत लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ।