दाङ : कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा रातीमा जारी निषेद्याज्ञा कायमै हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निशेद्याज्ञालाई कायमै राख्ने निर्णय गरेको हो । बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्ण रुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ लगायतको उपस्थितिमा बसेको बैठकले भदौ ११ गतेदेखि जिल्लाभर लागू हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोड बिजोड प्रणाली लागू गर्ने, बजार लगायतका स्थानमा स्वास्थ्य मापदण्ड पुरा नगर्नेलाई नगद तथा अन्य कारबाही गर्ने निर्णय भएको बैठकमा सहभागि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।
बैठकले सबै कार्यालयमा अनिवार्य मास्क प्रयोग गरेर मात्र सेवाग्राहीहरुको प्रवेश व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।
यसैबिच प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दाङलाई कोभिडबाट मुक्त राख्नका लागि राती पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाएको खोजि गरिएको जानकारी दिए ।