२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

प्राधिकरणको कार्यकारी निर्देशकबारे प्रस्ताव नै गएको छैन : उर्जा मन्त्रालय

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी पदमा नियुक्तिका लागि ऊर्जा मन्त्रालयले आजको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव नलगिएको जनाएको छ।

प्राधिकरणको कार्यकारी निर्देशक पदमा आज बसेको मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई नै निरन्तरता दिएको समाचार आइरहँदा ऊर्जाले भने प्रस्ताव नै नलगेको जनाएको छ।

‘प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रीज्यूले कसैको पनि नामलाई अगाडि लानु भएको छैन’, ऊर्जा मन्त्री वर्षमान पुनका प्रेस सल्लाहकार दयानीधि भट्टले भने, ‘प्राधिकरणको कार्यकारी निर्देशक आजैको मन्त्रिपरिषद्‍बाट निर्णय हुने सम्भावना पनि छैन।’

कुलमानले आफ्नो पहिलो कार्यकालले यही २९ गते पूरा गर्दैछन्। त्यसअघि नै निगमको नयाँ कार्यकारी निर्देशक छान्‍नुपर्ने हुन्छ।

विभिन्न अनलाइनमा पुनः नियुक्तिको समाचार देखेपछि सामाजिक सञ्जालमा घिसिङलाई बधाई दिनेको संख्या सामाजिक सञ्जालहरुमा उल्लेख्य छ ।

घिसिङ प्राधिकरणको कार्यकारी प्रमुख भएर आएपछि १८ घण्टे लोडसेडीङ अन्त्य गर्न सफल भएको भन्दै पुनः उनैलाई नियुक्ति दिइनुपर्ने जनदवाव बढेको छ ।