२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

छिमेकी दाजुको बन्चरो प्रहारबाट रोल्पामा एकको मृत्यु

सांकेतिक तस्वीर ।

रोल्पा : रोल्पामा छिमेकी दाजुले बन्चरो प्रहार गर्दा बिहीबार बिहान एक जनाको ज्यान गएको छ ।

उत्तरी रोल्पास्थित परिवर्तन गाउँपालिका–३ इरिबाङको बाघमारामा छिमेकी रामचरण बादीले भाइ नाता पर्ने ४० वर्षका मनबहादुर बादीमाथि बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना बिहीबार बिहान करिब २ बजेतिरको हो । रामचरणले घरैमा पुगेर ढोका ढक्ढक्याएर बोलाएपछि बन्चरो प्रहार गर्दा मनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्यामा संलग्न भएको आरोपमा ४४ वर्षका रामचरणलाई प्रहरीले बिहानै नियन्त्रणमा लिएको छ । हत्याका आरोपित रामचरणविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए ।

घटनाबारे असुन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार मृतकमाथि ज्यान लिनेगरी प्रहार गरिएको बन्चरोको बिड फेला पारिएको छ ।

मृतक मनबहादुरको शव प्रहरीको सहयोगमा पोस्टमार्टमका लागि सदरमुकामको रेउघास्थित रोल्पा अस्पतालमा ल्याइएको खबर कान्तिपुरमा प्रकाशित छ ।